सानोमा स्कुल पढ्दा कसैले ‘तिमी ठुलो भएपछि के बन्ने?’ भनेर सोध्दा प्राय सबैको जवाफ हुन्छ, डाक्टर, इन्जिनियर र नभए पाइलट। मिना घिमिरेको कक्षामा पनि प्राय यस्तै जवाफ गुन्जिन्थ्यो। तर उनी भन्थिन् ‘फेसन डिजाइनर’। त्यो सबैले सुनिरहेको जवाफभन्दा फरक थियो। त्यही फरक जवाफले उनलाई अहिले यहाँसम्म ल्याइपुर्‍याएको छ। उनले फेसन डिजाइनिङ पढेर भर्खरै आफ्नो बुटिक खोल्न सफल भएकी छन्। यो उनकै सपनाको कथा हो। 

राम्राराम्रा लुगा लगाउने शोख उनमा सानैबाट थियो। आमाका साडीहरू लगाउँथिन्। ऐना अगाडि बसेर आफूलाई घन्टौंसम्म नियाल्थिन्। घरका मान्छेलाई कपडा सिलाउन कि त कपडा पसल नभए बुटिक धाइराख्नु पर्थ्यो। यसरी बुटिकको बारेमा थाहा भएपछि त्यसप्रतिको लगाव बढ्दै गयो। बुटिक खोल्ने इच्छा हुर्किँदै गयो। 

अहिले सुन्धाराको धरहरा नजिकै उनको आफ्नै बुटिक खुलेको छ। सानैदेखि देखेको सपना बिपना भएर सजिएको छ। दराजमा सजिएका तथा ह्या्ङ्गरमा झुण्डिएका रङ्गीबिरङ्गी कपडाहरू उनको साथी भएका छन्। गएको जेठ २९ मा ओपनिङ गरेपछि लगातार ग्राहकहरू आइरहेका छन्। त्यसैले उनलाई ऊर्जा मिलेको छ। तर यो त्यत्तिकै सम्भव भएको भने हैन। 

फेसन डिजाइनर बन्ने रहर भए पनि उनले त्यही विषय पढ्न पाइनन्। अङ्ग्रेजी र समाज शास्त्रमा स्नातक सकेर बसेकै समयमा भारतको दिल्लीमा हुर्केका राम घिमिरेसँग उनको विवाह भयो। उनको इच्छा फेसनमा छ भन्ने थाहा पाएपछि श्रीमानले पढ्न हौस्याए। उनले बागबजारको IEC कलेजमा फेसन डिजाइनिङ पढ्न थालिन्। 

डेढ वर्षको कोर्स गर्दा आफूले चाहेको सबै कुरा सिकिन्। त्यसले फेसन डिजाइनिङ मात्र नसिकाएर व्यवसायका अन्य पक्षहरूसँग पनि साक्षात्कार गराइदियो। डिजाइनिङको कक्षामा कैँची कसरी चलाउने देखि नाप कसरी लिने जस्ता कुरा सिकेपछि ग्राहकलाई कस्तो कुरा चाहिने रहेछ भन्ने बुझ्न सजिलो भयो। उनलाई बुटिक खोल्ने आँट आयो। श्रीमानसँग सल्लाह गरेर खोल्ने निर्णय भयो। 

बुटिक चाहिने रहेछ भन्ने बारेमा पनि रोचक कथा छ। डिजाइनिङको कोर्स गरिसकेपछि उनले ‘रमिना डिजाइन्स’ नाम दिएर अनलाइनबाटै कपडा बेच्न सुरु गरिसकेकी थिइन्। अनलाइन अर्डर गर्ने ग्राहकहरू प्रशस्त थिए तर उनीहरू पसलमै आएर किन्न पाए हुन्थ्यो भन्थे। उनको पसल थिएन। धेरैले फोटोमा देखेको भन्दा यथार्थमा रङ्ग तथा साइज फरक परेको भन्ने जस्ता प्रतिक्रिया दिन्थे। त्यस समस्यालाई समाधान गर्न पनि बुटिक चाहिएको थियो। 

खोल्ने निर्णय भइसकेपछि पनि समय लम्बियो। पसलका लागि उपयुक्त ठाउँ खोज्न समय लाग्यो।चिनेका साथीभाइ तथा अनलाइनमा खोजेको ४ देखि ५ महिना पछि धरहराबाट खिचापोखरी जाने बाटो नजिकै भर्खरै बनेको नयाँ घरमा कोठा भेटियो।  

ग्राहकहरूले कपडाको गुणस्तरमा बढी ध्यान दिन्छन् भन्ने जानकारी भएका कारण उनले बुटिकमा गुणस्तरीय सामान मात्र राख्ने निर्णय गरिन्। डिजाइनर इथ्निक कपडाको लागि प्रख्यात मानिने भारतका मुम्बई, नयाँ दिल्ली र सुरत सहरहरूबाट कपडाहरू ल्याइन्। अनुभवी डिजाइनरहरूले विशेष छनोट गरेका कलेक्सनहरू मात्र ल्याइन्। 

उनको बुटिकमा नेपाली बजारमा हत्तपत्त नभेटिने लेहेंङ्गा, गाउन, साडी, कुर्ती, सुट, पार्टी क्ल्चेज, झुम्का र अन्य एसिसरिजहरुको युनिक पिसहरू पाइन्छ। त्यसको दाम पनि खासै महँगो छैन। उनी भन्छिन् ‘धेरैले बुटिक भन्नासाथ महँगो हुने सोच्छन्। हामी सस्तो दाममानै गुणस्तरीय सामान बेचिरहेका छौँ।”

साथै बुटिकलाई आकर्षक बनाउन विभिन्न किसिमका बत्ती, डमी, फर्निचर र भित्री डिजाइनमा अधिकतम खर्च भयो। तर एकपल्टमात्र लगानी पर्ने भएकाले व्यवसायले चाँडै नै प्रतिफल दिने कुरामा भने उनी आशावादी छिन्। साथै 

अनलाइनबाट व्यवसाय गर्दा कमाएका ग्राहक पनि खोजीखोजी बुटिकमा आउन थालेका छन्। देश तथा विदेशबाट पनि अर्डरहरू आउन थालिसकेका छन्। 

सानैदेखिको सपना साकार भएकोमा उनी खुसी छन्। श्रीमानको राम र उनको मिना नाम मिलाएर राखिएको ‘रमिना’ बुटिक अब उनीहरूको साझा सपना भएको छ। विवाहपछि महिलाले केही गर्न पाउँदैनन् भन्ने सामान्य बुझाइलाई उनीहरूको सहकार्य प्रेरणादायी भएको छ। 

थप जानकारीका लागि सम्पर्क:

रमिना क्लोथिङ्ग एन्ड एसिसरिज, सुनधारा गहनाबाहाल, अरनिको कम्प्लेक्स, काठमाडौँ नेपाल

९७७-९८६७१८२२८७/ ९७७-९८४१५९३५३२

This email address is being protected from spambots. You need JavaScript enabled to view it.

www.designsramina.com

www.facebook.com/raminadesigns

तलको युट्युब भिडियोमा उद्यमी नेपाल र रमिना बुटिकबीच भएको प्रतक्ष अन्तर्वार्ता हेर्नुहोस्: 

0
0
0
s2sdefault

भिडियो प्रतियोगिता- पुरस्कारमा एक लाखसम्म!

हाम्रो युट्युब!

 

 

कृषि उत्पादन यहाँ बेच्नुहोस् !