देशमै बसेर केही उद्यम तथा व्यवसाय गर्ने रहर भएर पनि कसरी गर्ने भन्ने अन्योलले धेरैलाई पछाडि हटाइरहेको हुन्छ। कतिपय अवस्थामा त सुरु गरिसकेपछि पनि व्यवसाय नफस्टाउने र अन्त्यमा बन्दै गर्नुपर्ने अवस्था आइपर्छ।। त्यसैले पनि विदेश जाने व्यक्तिको जमात देशमा बढ्दो छ। विदेश बसेर आउनुभएका दाजुभाइ तथा दिदीबहिनी पनि स्वदेश फर्किएपछि कमाएको पुँजी केमा लगानी गर्ने भन्ने कुरामा अलमल्लिरहेका हुन्छन्। 

यसरी अन्योलमा परेका व्यक्तिहरूका लागि सिलाइ कटाइ राम्रो विकल्प हुनसक्छ। धेरै लगानी पनि नलाग्ने तर राम्रो आम्दानी हुने व्यवसाय भएकाले कपडा सिलाएर र बेचेर सफल भएका व्यवसायीहरू थुप्रै छन्। त्यी मध्ये आज हामी यी ३ महिलाहरूका बारेमा सुनाउन जाँदैछौं जसले सिलाइ कटाइ गरेर राम्रो आम्दानी गरिरहेका छन्।

निताको सिलाइ कटाइ तालिम केन्द्र 

झापाको चारआलीमा नीता चौहानको सिलाइ कटाइ तालिम केन्द्र खोलेकी छिन्। घरमा उध्रिएका लुगा सिलाउनका भनी उनले मेसिन किनेकी थिइन्। बिस्तारै सिलाइमा रुचि बढ्दै गयो। यसले उनलाई सिलाइ सम्बन्धी धेरै तालिमहरू लिन हौस्यायो। सुरुमा झोला बनाउने तालिममा सहभागी भइन्। हेन्ड ब्याग र जेब्रा ब्याग बनाउन पनि जान्ने भइन्। उनको रुचि देखेर उनलाई झापा जिल्ला लघु उद्यम सङ्घबाट दुई वटा मेसिन सहयोग भयो। त्यसपछि साथीहरू बटुलेर उनले घरमै सिलाउन थालिन्। राम्रै आम्दानी हुन थालेपछि सटर लिने भइन्। सटर लिएपछि तालिम पनि दिने भइन्, सिक्न चाहनेलाई अवसर पनि भयो। अहिले उनीसँग ८ वटा मेसिन छन्। १५ देखि २० जना सिकारुहरू छन्। 

उनले रेडिमेड कपडाहरू हेरेर त्यस्तै डिजाइनका कुर्थी, प्लाजो, गाउनहरू सिलाउने र सिकाउने गर्छिन्। 

उनको कथा यो भिडियोमा हेर्नुहोस्।

खाली समयको सदुउपयोग गर्न निर्मलाले सिकिन् सिलाइ 

निर्मला तामाङ एस एल सी सकेर बसेकी थिइन्। ३ महिने बिदामा उनलाई यसै खेर जान दिन मन भएन। घरमा सानो सिलाइ मेसिन थियो। उनले सिलाइ सिक्ने निर्णय गरिन्। घर नजिकै बजारमा तालिम केन्द्र थियो। त्यहीँ सिलाइ सिकिन्। प्लस टुको पढाइ सुरु भयो। प्लस टु सकेर सिलाइलाई नै निरन्तरता दिने सोचिन्। त्यसैले हात बसाइराख्न घरमा केही न केही सिलाइ नै राखिन्। पढाइ सकियो। केही समय घरमै सिलाइन्। रकम जम्मा भएपछि पसल खोलिन्। एउटा मेसिनबाट सुरु गरेको पसलमा अहिले दुई जना अरू दिदीहरूले पनि काम गर्नुहुन्छ। उनी १० देखि ११ हजारको मेसिन किनेर सजिलै पसल खोल्न सकिने कुरा गर्छिन्। पसल खोल्न मुख्य कुरा मेसिन र ठाउँ हो अरू बिस्तारै जोड्दै जान सकिन्छ भन्छिन्। हाल स्थानीय महिलाहरू उनका मुख्य ग्राहक छन्। कस्तो खाले व्यापार धेरै हुन्छ त भन्ने प्रश्नमा उनको जवाफ छ, “स्कुल ड्रेसको बढी अर्डर आउँछ र चाडबाडमा भ्याइनभ्याइ काम आइरहन्छ।” निर्मलाको श्रीमान् विदेशमा छन्। पसलमा महिनामा कम्तीमा १५ देखि १६ हजार नभए २२ देखि २३ हजार कमाइ हुन्छ। आफ्ना लागि खर्च उनी आफै जुटाउँछिन्।

उनीसँगको पूरा कुराकानी हेर्नका लागि यो भिडियो हेर्नुहोस्।

२० वर्षको अनुभवपछि सुमित्राको आफ्नै सिलाइ पसल 

सुमित्राले सिलाइ सुरु गरेको २० वर्ष भइसक्यो। बिसौँ वर्षसम्म सधैँ अरूकै पसलमा काम गरिरहिन्। आफ्नै पसल खोलेको चाहिँ एक वर्ष भयो। हातमा सीप थियो, लेडिज कपडाहरू सबै सिलाउन जान्दथिन्। थुप्रै बुटिकहरूमा पनि काम गरिन् तर आफ्नो हिसाबले कहिल्यै चल्न पाइनन्। उनलाई आफ्नै पसल खोल्ने रहर थियो। एक दिन घर नजिकै चाकुपटमा एउटा खाली सटर भेटिन्। मेसिन आफैसँग थियो। पसल खोल्ने आँट पलायो। आमा र बहिनीले पनि सघाए। कपडाहरू केही काठमाडौँकै होलसेल र केही बनारसबाट ल्याइन्। अहिले पसलमा राम्रो कमाइ हुन्छ। आफ्नै पसल खोल्ने निर्णय गरेकोमा उनी निकै खुसी छिन्। भन्छिन्,” यो व्यवसायमा घाटा खासै हुँदैन नाफा नै हुन्छ धेर थोर मात्र हो।”  उनी सिलाइ सुरु गर्न चाहनेलाई कम्तीमा ६ महिने तालिम लिएर मात्र सुरु गर्न सल्लाह दिन्छिन्। 

उनीसँगको पूरा कुराकानी हेर्नका लागि यो भिडियो हेर्नुहोस्।

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल