कुनै पनि व्यवसाय सञ्चालन गर्दा त्यो व्यवसायलाई भविष्यमा कस्तो बनाउने र कसरी बनाउन सकिन्छ भनेर सोच-विचारपूर्ण हिसाबले लेखि तयार पारिएको योजनालाई व्यावसायिक योजना भनिन्छ। व्यावसायिक योजानामा, तपाईले व्यवसाय सुरु गर्नुको उद्देश्यहरु, ती उदेश्यहरुलाई भविष्यमा पुरा गर्नका लागि गर्नुपर्ने कामहरु, व्यावसायमा संलग्न व्यक्तिहरुको विवरणहरु, आवश्यक पर्न सक्ने बजेट आदिको बारेमा पुरा जानकारी लेखिएको हुन्छ।

व्यावसायिक योजना किन आवश्यक छ?

कुनै योजना नबनाई व्यवसाय सुरु गर्नु भनेको अध्यारोमा ढुङ्गा हान्नु जस्तै हो। व्यवसाय गर्न चाहने जो कोही व्यक्तिले व्यावसायिक योजना बनाउन एकदमै जरुरि हुन्छ । व्यासायिक योजनाको मुख्य महत्वहरु तल दिईएको छ:

१. भविष्यमा आउन सक्ने समस्याहरुलाई टार्न मद्दत गर्छ

राम्रो व्यवसाय सञ्चालन गर्नको लागि त्यो व्यवसायलाई व्यवस्थित तरिकाले चलाउनु पर्ने हुन्छ। व्यावसायिक योजनाले व्यवसाय सञ्चालन गर्दा आइपर्न सक्ने समस्याहरुलाई हटाउन पनि मद्दत गर्छ। किनकि योजना बनाउनाले भविष्यमा आइपर्ने जोखिम वा चुनौतीहरुको सामना गर्नको लागि विकल्पहरू थाहा पाउन सकिन्छ।

२. आफ्नो व्यवसाय बढाउन

एउटा राम्रो व्यावसायिक योजना बनाएर व्यवसाय सञ्चालन गरेको उद्यमीले पक्कै पनि राम्रो फाइदा लिन सक्छ जसले गर्दा भविष्यमा व्यवसायको पुँजी बढाएर व्यवसायको आकार बढाउन सकिन्छ।

३. व्यवसायको काम लगातार गर्न

व्यावसायिक योजना नबनाएको व्यवसायमा भोलि के काम गर्दा राम्रो हुन्छ वा कुन काम कति बेला गर्ने भनेर अलमलमा पर्न सकिन्छ, त्यसको निर्णय लिन धेरै समय लाग्न सक्छ। र अघि गर्नुपर्ने काम पछि अनि पछि गर्नुपर्ने काम अघि हुनसक्छ जसले गर्दा काम गर्ने क्रम बिग्रिन गई ढिला सुस्ती हुन सक्छ। त्यसैले योजना बनाएर व्यवसाय सञ्चालन गरेमा व्यवसायको काम समयमै लगातार गर्न सकिन्छ।

४. पैसाको राम्रो व्यवस्था गर्न

योजना बनाएर काम गर्दा चाहिने ठाउँमा मात्र पैसा खर्च हुन्छ र के कति खर्च लाग्छ भन्ने पनि लगभग अनुमान गर्न सकिन्छ। जसले गर्दा अनावश्यक कुरामा खर्च हुन पाउदैन।

५. व्यवसायलाई सफल बनाउन

यदि योजना अनुसार व्यवसाय सञ्चालन गरेमा सबै काम समयमा नै गर्न सकिन्छ। जसले गर्दा व्यवसायको उद्देश्य पुरा गर्न मद्दत गर्छ र असफल हुने सम्भावना पनि कम हुन्छ। यसरि आफ्नो व्यवसायलाई भविष्यमा सफल व्यवसाय बनाउन सकिन्छ।


स्रोत : यो लेख उद्यमी नेपाल टिमले बिभिन्न लेख तथा अनुशन्धानहरुको अध्ययन गरि तयार परेको हो।

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल